निर्वाचनअघि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आए स्वीकार गर्छौँ: कांग्रेस


काठमाडौं- नेपाली काँग्रेसले निर्वाचन प्रक्रियालाई पहिलो प्राथमिकतामा राख्दै आएको स्पष्ट पारेको छ । तर निर्वाचनअघि नै प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी कुनै न्यायिक फैसला आए त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने कांग्रेसले जनाएको छ ।

सोमबार निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको बन्द सूची बुझाउने विषयमा जानकारी गराउँदै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अदालतबाट आउने कुनै पनि निर्णयलाई सम्मान गर्ने पार्टीको अडान रहेको बताए ।

उनले कांग्रेस निर्वाचन चाहने पक्षमा रहेकाले समयमै दल दर्तादेखि उम्मेदवारी प्रक्रियासम्म सबै तयारी अघि बढाएको उल्लेख गरे । “निर्वाचन होस् भन्ने हाम्रो चाहना हो । त्यसैअनुसार हामीले दल दर्ता गरिसकेका छौँ, आज समानुपातिक बन्द सूची बुझाउँदैछौँ । केही समयपछि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता पनि हुन्छ, त्यो पनि हामी गर्नेछौँ,” उनले भने ।

तर यसर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी कुनै फैसला आए कांग्रेस त्यसलाई स्वागत र पालना गर्न तयार रहेको उनले स्पष्ट पारे । “यदि यो बीचमा कुनै न्यायिक फैसला आयो भने हामी त्यसलाई स्वागत गर्छौँ र त्यसअनुसार अघि बढ्छौँ,” विश्वकर्माले भने ।

उनले नयाँ राजनीतिक शक्तिहरूबीच देखिएको एकतालाई कांग्रेसले सकारात्मक रूपमा लिएको पनि बताए ।

यस्तै, विश्वकर्माले पार्टीले यसपटक पूर्वसांसद र पूर्वमन्त्रीलाई समानुपातिक तर्फको बन्द सूचीमा नराख्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया