
कांग्रेसको ‘फर्क’ अपिलपछि के गर्छन् कर्ण मल्ल ?
काठमाडाैं- नेपाली कांग्रेसले पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई पुनः पार्टीमै फर्कन आह्वान गरेसँगै डडेल्धुराको राजनीतिक वृत्तमा फेरि चर्को बहस सुरु भएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हालै बसेको बैठकले विगतमा विभिन्न कारणले पार्टी छाडेर स्वतन्त्र बनेका वा अन्य दलमा गएकाहरूलाई कांग्रेसमै फर्कन आग्रह गर्ने निर्णय गरेको हो। बैठकले फर्किनेहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नुका साथै आवश्यक जिम्मेवारीसमेत दिने स्पष्ट संकेत गरेको छ।
यस निर्णयलाई लिएर डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) बाट सक्रिय वरिष्ठ नेता कर्णबहादुर मल्लले मिश्रित तर सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले कांग्रेसको अपिललाई स्वागतयोग्य भने पनि डडेल्धुराको सन्दर्भमा स्पष्ट सर्त अघि सारेका छन्।
मल्लका अनुसार १४औँ महाधिवेशनदेखि स्थानीय तह निर्वाचनसम्म कांग्रेसबाट बाहिर राखिएका नेता–कार्यकर्तालाई स–सम्मान स्वागत गर्दै नीतिगत रूपमा व्यवस्थापन र पुनर्स्थापन गरिएमा मात्रै उक्त निर्णय सार्थक हुनेछ।
“उहाँहरूले गरेको अपिल कांग्रेसका लागि सकारात्मक कुरा हो,” मल्लले भने, “तर डडेल्धुराको हकमा १४औँ महाधिवेशनदेखि नै नेता–कार्यकर्तालाई बाहिर राख्दै स्थानीय तह निर्वाचनमा एकलौटी निर्णय गरियो। त्यसपछि नेपाली कांग्रेस (बीपी) मा गएका सबै साथीहरूलाई नीतिगत रूपमा व्यवस्थापन गरेर पुनर्स्थापना गरिएमा मात्रै हामी त्यो निर्णयलाई स्वागत गर्छौँ।”
उनका अनुसार हाल नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान सेरचनको नेतृत्वमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग औपचारिक वार्ता भइरहेको छ। “वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ,” मल्लले भने, “यदि डडेल्धुरामा सभापति शेरबहादुर देउवाले स्वयं १४औँ महाधिवेशनदेखि बाहिर राखिएका साथीहरूलाई व्यवस्थापन गर्ने गरी नीतिगत निर्णय गर्नुभयो भने मलगायत सम्पूर्ण बीपी कांग्रेस डडेल्धुराका साथीहरू सकारात्मक हुने छौँ।”
डडेल्धुराको राजनीतिक पृष्ठभूमि हेर्दा कर्णबहादुर मल्ल लामो समयसम्म नेपाली कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा परिचित थिए। नेविसंघबाट राजनीतिमा प्रवेश गरेका मल्ल शेरबहादुर देउवाका विश्वासपात्रसमेत मानिन्थे। तर १४औँ महाधिवेशनपछि सम्बन्धमा आएको तिक्ततापछि उनी कांग्रेस (बीपी) मा पुगेका थिए। त्यसपछि प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध उम्मेदवारी दिएर जिल्लाको राजनीति झनै चर्काएका थिए।



कागजपत्र |
