थाइल्याण्डले विवादित सीमा क्षेत्रमा रहेको विष्णु मूर्ति हटाएको पुष्टि


काठमाडौं- थाइल्याण्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ। छिमेकी दुई देशबीच दुई हप्ताभन्दा बढी समयदेखि जारी सैन्य झडपपछि उक्त मूर्ति ध्वस्त भएको हो।

कम्बोडियाली अधिकारीहरूले मूर्ति हटाइएकोप्रति आपत्ति जनाएका छन्। प्रेह विहार प्रान्तका प्रवक्ताका अनुसार सो मूर्ति सन् २०१४ मा निर्माण गरिएको थियो र सोमबार हटाइएको हो।

थाई सरकारले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता नभएको र केवल सजावटी तत्वका रूपमा स्थापना गरिएको दाबी गरेको छ। थाई रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यले मूर्ति हटाइएको हो।”

मूर्ति ध्वस्त पारिएको दृश्य समेटिएको भिडियो यस हप्ता थाइल्याण्डका सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। गुगल नक्साका अनुसार उक्त मूर्ति कम्बोडियाको सीमाबाट करिब ४ सय मिटर टाढा अवस्थित थियो।

यो क्षेत्र लामो समयदेखि थाइल्याण्ड–कम्बोडिया सीमा विवादको केन्द्र रहँदै आएको छ। यसै महिनाबाट सुरु भएको पछिल्लो झडपमा थाइल्याण्डतर्फ २३ जना सैनिक र कम्बोडियातर्फ २१ जना नागरिकको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ।

थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले नष्ट गरिएको मूर्तिको विषयलाई लिएर विवाद चर्किन नदिन सरकार सक्रिय रहेको बताएका छन्। उनले भने, “नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन,” भन्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको स्पष्ट पारे।

प्रतिक्रिया