
हृदयन्द्र शाहको भ्लगपछि चर्चित बनेकी पञ्चकली राप्रपाको उम्मेदवार सिफारिस
सुर्खेत- पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’ मा देउडा गीत सुनाएर देशव्यापी रूपमा चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीमा सिफारिस भएकी छन्।
राप्रपाले पञ्चकलीसँगै जानदेवी शर्मा र बसन्ताकुमारी शाहीको नाम पनि समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
गत साउनमा सार्वजनिक भएको ‘जुम्ला भ्लग’ मा पञ्चकलीले हृदयन्द्र शाहलाई “जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोही सुन्दैनन् कान, कर्णाली रोयाको आवाज” भन्ने मार्मिक देउडा गीत सुनाएकी थिइन्।
त्यही क्रममा उनले पूर्व युवराजसँग “हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला?” भन्ने प्रश्न पनि राखेकी थिइन्। जवाफमा हृदयन्द्र शाहले सबैले राम्रो काम गर्नुपर्ने र आफूहरू पनि सक्रिय हुनुपर्ने बताएका थिए। जुम्लाका एक राप्रपा नेताका अनुसार सोही भ्लगले पञ्चकलीको राजनीतिक सक्रियता र उम्मेदवार सिफारिसमा अप्रत्यक्ष भूमिका खेलेको हो।
२४ वर्षीया पञ्चकली पातारासी गाउँपालिका–५ की हुन्। यसअघि उनी जुम्लाको रेडियो खुल्ला आकाशमा कार्यरत थिइन्, तर हाल पत्रकारिता छाडिसकेकी छन्।
२०७९ सालको निर्वाचनमा उनले ज्ञानेन्द्र शाहीका लागि भोट मागेकी थिइन्, तर त्यो समयमा राप्रपामा संगठित नभएको उनले बताएकी छन्। साथै, उनी राप्रपाको विद्यार्थी संगठनबाट जुम्ला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्। हाल उनी पार्टीको साधारण सदस्य रहेको जनाइएको छ।



कागजपत्र |
