चेपाङको खुसीमा देखियो मुख्यमन्त्री बानियाँको नेतृत्व


हेटौंडा – सामाजिक सञ्जालमा चर्को भाषा, गाली र घृणाले क्षणिक भाइरल त बनाउँछ, तर जनताको मन जितेर मुटुमा बस्न सक्नु—त्यो नै दीर्घकालीन राजनीति हो। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको पछिल्लो कामले यही सन्देश दिएको छ।

मुख्यमन्त्री बानियाँले आफ्नै सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरी मकवानपुरको कैलाश गाउँपालिका–४ का अति विपन्न चेपाङ दम्पती धुसर लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङका लागि सुरक्षित घर निर्माण गरिदिएका छन्। शनिबार एक कार्यक्रमका बीच उनले उक्त घर हस्तान्तरण गरे।

कैलाश गाउँपालिकाले अति विपन्नको रूपमा पहिचान गरी सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँले केही महिनाअघि व्यक्तिगत खर्चमै घर निर्माण सुरु गराएका थिए। करिब ८ लाख रुपैयाँ लगानीमा तीन कोठे, जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए।

लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार र सानै उमेरमा आगलागीबाट घाइते भई आंशिक अपाङ्ग बनेकी सानुमायाका लागि यो घर केवल संरचना मात्र होइन—सम्मान र सुरक्षाको अनुभूति हो।

घर हस्तान्तरणसँगै गाउँपालिकाले ओढ्ने, ओच्छ्याउने तथा लत्ताकपडाको व्यवस्थापन गर्ने घोषणा गरेको छ। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफ्नै सेवा–सुविधाको रकम खर्च गरेर घर बनाउनु आफ्नो राजनीतिक दायित्व भएको बताए।

उनले प्रदेश सरकारमार्फत गरिब, दलित, सिमान्तकृत, एकल महिला लगायत लक्षित वर्गका लागि एक हजार घर निर्माण गर्ने कार्यविधि तयारीको चरणमा रहेको जानकारी दिए। साथै, घर पाउने परिवारलाई आयआर्जनका लागि बिना ब्याज प्रति परिवार २ लाख रुपैयाँ ऋण उपलब्ध गराइने र चेपाङ दम्पतीलाई बाख्रा पालनका लागि नगद २० हजार रुपैयाँ सहयोग गरिएको छ।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको घर निर्माण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माण कार्य जारी छ।

राजनीति नाराले होइन, व्यवहारले मापन हुन्छ। गाली गरेर भाइरल हुने नेता धेरै छन्- तर जनताको पीडामा घर बनेर उभिन सक्ने नेता नै समयसँग टिक्छन्।

प्रतिक्रिया