राष्ट्रियता नाजुक अवस्थामा छ, देशलाई अभिभावक चाहिएको छ : डा. कोइराला


काठमाडौं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक स्थिरता दिन सक्ने एउटा सक्षम अभिभावकको आवश्यकता रहेको बताएका छन्। कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले देशको राष्ट्रियता र लोकतन्त्र दुवै नाजुक अवस्थामा पुगेको टिप्पणी गरे।

डा. कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै अघि बढाउन नसके नेपाल टिक्न नसक्ने चेतावनी दिए। उनका अनुसार लोकतन्त्र अहिले छाडातन्त्रमा परिणत हुँदै गएको छ र राजनीतिमा नैतिकता तथा संस्कार कमजोर बन्दै गएका छन्। उनले अहिलेको राजनीतिमा दीर्घकालीन सोचभन्दा लोकरिझ्याँइलाई प्राथमिकता दिइएको बताए।

संवैधानिक राजतन्त्रको विषयमा आफूलाई सुझाव आउने गरे पनि अब त्यो सम्भव नभएको र एक्लै प्रयास गरेर केही नहुने उनले स्पष्ट पारे। जेनजी आन्दोलनका सन्दर्भमा उनले बाहिर नेपाली अनुहार देखिए पनि भित्री स्वरूप के थियो भन्ने बुझ्न जरुरी रहेको बताए।

कार्यक्रममै बोल्दै डा. कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन केही समय पर धकेलिन सक्ने संकेत पनि गरे। महाधिवेशन चार वर्षमा हुने नियमित प्रक्रिया भएको उल्लेख गर्दै सञ्चारमाध्यमले यसलाई अत्यधिक चासोको विषय बनाउन नपर्ने बताए। आफू महाधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै क्रियाशील सदस्यताको व्यवस्थापनका कारण केही ढिलाइ भएको बताए।

उनले आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे। साथै सरकारले फागुन २१ मा तोकेको निर्वाचन मितिमा चुनाव सम्भव नदेखिएको उल्लेख गर्दै देशमा निर्वाचनको माहोल नै नबनेको टिप्पणी गरे।

प्रतिक्रिया