
कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा ९९ प्रतिशत विषादी
काठमाडौं- काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ समूहको विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ थरी तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको हो। विषादीको मात्रा अत्यन्तै उच्च भएकाले उक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको समितिले स्पष्ट पारेको छ।
सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको मात्रा पाइएमा केही दिन राखेर मात्र उपभोग गर्न सकिने व्यवस्था गरिएको छ। तर, ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्ता तरकारी पूर्ण रूपमा उपभोगका लागि अयोग्य ठहरिने मापदण्ड छ।
यसअघि पनि कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको थियो। लगातार यस्ता घटना दोहोरिँदा उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर चिन्ता बढेको छ।



कागजपत्र |
