
बंगलादेशमा बढ्दो राजनीतिक हिंसा: केही दिनमै दोस्रो नेताको हत्या
ढाका- बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्या भएको केही दिन नबित्दै फेरि अर्को राजनीतिक नेताको सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ।
बंगलादेशको प्रतिष्ठित अखबार ढाका ट्रिब्यूनका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरलाई सोमबार खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात आक्रमणकारीहरूले गोली हानेका हुन्।
गोली लागेर गम्भीर घाइते भएका सिकदरलाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल पुर्याएका थिए। अस्पताल स्रोतलाई उद्धृत गर्दै ढाका ट्रिब्यून ले सिकदरको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
घटनाबारे सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने, “मोतेलेब सिकदरमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। स्थानीय मानिसहरूले उनलाई उद्धार गरेर अस्पताल लगेका थिए।”
हत्या भएपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। एक वरिष्ठ प्रहरी अधिकारीले घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको र आक्रमणकारीको खोजी तीव्र पारिएको जानकारी दिए।
यसअघि, डिसेम्बर १२ मा ढाकास्थित एक मस्जिदबाट बाहिर निस्कने क्रममा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीमाथि पनि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई थप उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो। उपचारकै क्रममा डिसेम्बर १८ मा अस्पतालमा उनको मृत्यु भएको थियो।
हादीको मृत्युपछि बंगलादेशका विभिन्न स्थानमा हिंसात्मक घटना फैलिएको थियो।



कागजपत्र |
