
अन्यौलमा कांग्रेस महाधिवेशन
५ जनाको छलफलपछि महाधिवेशनको ‘छन्द’ नदेखेपछि महामन्त्री थापा पुनः विशेष महाधिवेशनको ‘मुड’मा
काठमाडौं – नेपाली कांग्रेसको घोषित महाधिवेशन अन्यौल बनेको छ । घोषित महाधिवेशनको करिब २० दिन मात्रै हुँदा महाधिवेशनको तयारीस्वरुप कुनै पनि काम अगाडि नबढेसँगै महाधिवेशन हुनेमा संशय देखा परेको छ ।
महाधिवेशनको तयारीस्वरुप कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै नेता रमेश लेखक र पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलबीच आइतबार मध्यान्ह छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उक्त छलफलमा नेता लेखकले महाधिवेशनको पूर्वतयारी स्वरुप, क्रियाशील सदस्यता वितरण, नविकरण, अद्यावधिक, छानबिन र फाइनल गर्नुपर्ने प्रावधान भएकोले त्यसको तयारी र प्रगतिबारे प्रश्न उठाउँदा महामन्त्रीद्वय अलमलमा परेका थिए । उक्त अवसरमा महाधिवेशन प्रतिनिधि चयनसम्म आइपुग्नका लागि गर्नुपर्ने विभिन्न प्रक्रियाहरुका बारेमा लेखकले महामन्त्रीहरुसँग जिज्ञासा राखेको पनि जनाइएको छ ।
छलफलमा महाधिवेशनको तयारीस्वरुप विधान संशोधन मस्यौदा समिति, प्रतिवेदन मस्यौदा समिति, प्रचार प्रसार समिति, आवास तथा भोजन समितिलगायतका विभिन्न समितिहरु गठन गर्नुपर्नेमा हालसम्म कुनै समिति गठन भएको छैन । जसले कांग्रेसको महाधिवेशन हुने अन्यौलमा थप बल पुगेको छ ।
देशकै ठूलो राजनीतिक दल नेपाली कांग्रेसको महाधिवेशन घोषणाको करिब २० दिनअघिसम्म पनि महाधिवेशनका सम्पन्न गर्नका लागि आवश्यक पर्ने तयारी नदेखिएपछि महाधिवेशन हुनेमा अन्याैल देखिएको हो । कतिपय राजनीतिक दलहरू अब निर्वाचन केन्द्रीत भइसकेको अवस्थामा कांग्रेस भने अझै महाधिवेशनकै तयारीमा नलाग्नुले पनि अन्याैलतालाई थप बल पुगेको कार्यकर्ताहरूको अनुमान छ ।
कांग्रेसको महाधिवेशनका लागि मंसिर १५ मा सम्पन्न केन्द्रीय समिति बैठकले कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकाअनुसार मंसिर २४ सम्म सबै क्षेत्रहरुमा क्रियाशील सदस्यता फारम पुग्नुपर्ने थियो । तर केही जिल्लाहरुमा नम्बर बिनाको पठाइएको भन्दै विवाद उत्पन्न भएको थियो । त्यसपछि कांग्रेसले करिब ४ लाख सिरियल नम्बर बिनाको क्रियाशील फारम रद्ध गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसको करिब डेढ महिनासम्म चलेको केन्द्रीय कार्य समितिको बैठकले जेनजी प्रदर्शनकारीको भौतिक आक्रमणमा परेको सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार गरि फर्किएपछि मंसिर १५ मा यही पुस २६, २७ र २८ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
विशेष महाधिवेशनको ‘मुड’मा गगन !
यसैबीच महाधिवेशनको घोषणापूर्व नै विशेष महाधिवेशनको ‘नारा’ बोक्दै हिँडेका महामन्त्री गगन थापाले कार्यबाहक सभापतिसहितको आज (आइतबार)को छलफलपछि विशेष महाधिवेशनका लागि तयारी गर्न लागेको स्रोतको दाबी छ । थापाले आफ्ना गुटका नेताहरुलाई विशेष छलफलका लागि आह्वान गरेको पनि स्रोतले जनाएको छ ।
महाधिवेशन तालिका
– केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण- मंसिर २० गतेभित्र
– प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि- मंसिर २४ गतेभित्र।
– एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि- पुस ८ गतेभित्र।
– एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि- पुस १० गतेभित्र।
– दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
– नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने- पुस १२ गतेभित्र।
– क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि- पुस १४ गते।
– केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाटप्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र।
– नेपाली जनसम्पर्क समितिको अधिवेशन- पुस १५ गते।
– गाउँ/नगर वडा अधिवेशन- पुस १६ गते।
– गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते।
– प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते।
– प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते।
– दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २२ गते।
– प्रदेश अधिवेशन- पुस २३ र २४ गते।
– केन्द्रीय महाधिवेशन- पुस २६, २७ र २८ गते काठमाडौंमा।



कागजपत्र |
