एमाले नयाँ नेतृत्वका लागि मतदान जारी


काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।

बुधबार बिहान साढे ९ बजेपछि सुरू भएको मतदानमा बिहीबार बिहानसम्म २१ सयभन्दा धेरै मत खसेको छ। मतदान कछुवा गतिमा भैरहेकोले प्रतिनिधिले घन्टौं पालो पर्खेर रातभर मत हालेका थिए। अझै १ सय जना बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिलाई निकै सास्ती हुँदा कोही बेहोस समेत भएका थिए। एमालेमा २२ सय ६३ प्रतिनिधि छन् । विद्युतीय मतदानबाट मत खसाल्ने व्यवस्था गरिए पनि समयका हिसाबले निकै सुस्त देखियो।

एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जना उम्मेदवार छन्। मत हाल्न एकजनालाई छिटोमा ९ मिनेटदेखि बढीमा दुई घन्टा चार मिनेटसम्म लागेको निर्वाचन आयोगले जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले प्रतिनिधिहरू बेहोस भएको र केहीले आफूले छान्ने उम्मेदवार चिन्न नसक्दा असिनपसिन भएको बताए।

मतदानमा ८० वटा मेसिन प्रयोग गरिएको छ। एमालेमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी मैदानमा छन्।

एमालेको नयाँ नेतृत्वमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन भएको हो।

मतदान सकिएको तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जनाइएको छ। एमालेमा १४ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया