यसरी धकेलिन सक्छ कांग्रेस महाधिवेशन, देउवाले निर्वाचन चहानुको कारण यस्तो छ


काठमाडौं– नेपाली कांग्रेसले आगामी १८ भदौदेखि महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। विधानले पनि नभ्याएपछि संविधानसम्मत रुपमा अन्तिम मितिको तयारी गरे पनि सभापति शेरबहादुर देउवा भने उक्त महाधिवेशनलाई धकेल्ने मुडमा छन्।

महाधिवेशन धकेल्नका लागि उनले प्रतिनिधि सभाको निर्वाचनमा जोडबल गरिरहेका छन्। तर महाधिवेशन चाहेका रामचन्द्र पौडेललगायतका नेताले भने चुनावलाई रोक्दै देउवाको नेतृत्वलाई कांग्रेसबाट हटाउने रणनीति अख्तियारी गरेका छन्। त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्पमा जानका लागि पौडेललगायतको जोडबल छ।

यदि राजनीतिक समीकरण र परिस्थितिले निर्वाचनतिर मुलुक गएको खण्डमा कांग्रेस महाधिवेशन धकेल्नुपर्ने हुन्छ। अन्यथा पार्टी नै विघटन हुने संवैधानिक प्रावधान रहेको छ।

कसरी धकेलिनेछ महाधिवेशन?

महाधिवेशन जसरी पनि गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका सभापति देउवाले संविधान संशोधनलाई अर्को विकल्पका रुपमा लिएका छन्। चुनावतिर मुलुक गए कांग्रेसको महाधिवेशनका लागि मात्र संसदमा रहेका दलहरूसँग संविधान संशोधनका लागि देउवाको अपिल रहनेछ।

त्यसका लागि प्रतिनिधि सभामा सबैभन्दा महत्वपूर्ण दल नेकपा एमाले हो। जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। ओली मुलुकमा चुनाव चहान्छन् र देउवा महाधिवेशनको मिति धकेल्न। देउवाले भनेका छन्,‘अब संविधान संशोधन गरेर मात्र महाधिवेशन मिति धकेल्न मिल्छ, त्यसका लागि कसले सहयोग गर्छ? संविधान संशोधन गर्न दुई तिहाई समर्थन चाहिन्छ।’

मुलुक चुनावतिर गए सबै दलको सहमतिमा संसदबाट संविधान संशोधन गरी कांग्रेसको महाधिवेशन मिति सार्न सक्ने अपेक्षामा देउवा रहेका छन्। ‘चुनावी माहौल बनेको खण्डमा भदौदेखि अर्को ६ महिनाका लागि महाधिवेशन सार्न सहयोग हुने सभापति देउवाको अपेक्षा रहेको छ’, कांग्रेस स्रोतले भन्यो,‘यसैले उहाँ चुनावकै पक्षमा हुनुहुन्छ।’

मुलुकलाई निर्वाचनतिर लैजान देउवाले सहयोग गरेको खण्डमा महाधिवेशनका लागि संविधान संशोधन गर्न ओलीको साथ रहने निश्चितप्रायः छ। यसमा चुनावमा होमिएका जनता समाजवादी पार्टीले पनि संशोधनका लागि सहयोग गर्ने देउवाको अपेक्षा रहेको छ।

देउवा तत्कालै महाधिवेशनको मुडमा छैनन्। कांग्रेसमा अर्को कार्यकाल पनि सभापति हुने दाउमा रहेका उनी चुनावअघि टिकट बाँड्ने र महाधिवेशनको माहौल बनाउने मुडमा छन्। कांग्रेसको आगामी नेतृत्वका लागि विभिन्न समीकरण बनिरहेका बेला त्यसलाई ढाल्नका लागि पनि चुनाव अगाडि भए अर्को कार्यकाल सभापति हुने र प्रधानमन्त्री पनि बन्ने लक्ष्यमा देउवा छन्।

कांग्रेस स्रोतले भन्यो,‘यसैकारण पनि अहिले प्रधानमन्त्रीको पद खल्तीमा रहेका बेला देउवाले चासो नदिनुभएको हो। उहाँ चुनावपछि कांग्रेसको बहुमत आउने र प्रधानमन्त्री बन्ने, त्यसपछि महाधिवेशनमा फेरि सभापति बन्ने मुडमा हुनुहुन्छ।’

यसो हुँदा देउवा खेमाभित्रै रहेको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सकिने देखिएको छ। सभापतिका लागि दाबी गरिरहेका उपसभापति विमलेन्द्र निधि एक कार्यकाल फेरि उपसभापतिमा नै रोकिन सहमत हुनेछन्।

प्रतिक्रिया