
मुगुमा भाइरल ज्वरो र दमले अस्पताल भरिभराउ
मुगु- मंसिर महिनासँगै बढेको अत्यधिक चिसोले हिमाली जिल्ला मुगुमा जनस्वास्थ्य संकट निम्त्याउन थालेको छ । चिसो मौसम, धुवा–धूलो र कमजोर स्वास्थ्य पूर्वाधारका कारण भाइरल ज्वरो, रुघाखोकी, दम र निमोनियाका बिरामीको संख्या एकाएक बढेको छ । बिरामीको चापले जिल्ला अस्पताल ठिनी भरिभराउ हुन थालेको छ ।
पछिल्लो एक सातायता चिसो तीव्र रूपमा बढेपछि अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको हो । भाइरल ज्वरो र रुघाखोकी बालबालिका र वृद्धवृद्धामा मात्र होइन, वयस्क उमेर समूहमा पनि फैलिएको छ । सरुवा रोग भएकाले एक जनामा देखिएपछि पूरै परिवारमा फैलिने क्रम बढ्दो रहेको चिकित्सकहरू बताउँछन् ।
जिल्ला अस्पताल ठिनीमा दैनिक ६० देखि ७० जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तीमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन् । भर्ना हुने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धाको संख्या उल्लेख्य छ ।
आर्थिक अवस्था कमजोर भएका धेरैजसो नागरिक रोगले च्यापेपछि मात्र अस्पताल पुग्ने गरेको अस्पताल स्रोतले जनाएको छ ।
तर बढ्दो बिरामीको चापका बीच अस्पताल आफैँ समस्यामा परेको छ । जिल्ला अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नहुँदा उपचारमा कठिनाइ भइरहेको चिकित्सक डा. बबिषेक मिश्रले बताए ।
“दम र निमोनियाका बिरामी बढिरहेका छन्, तर अक्सिजनको अभावले जोखिम बढाएको छ,” उनले भने ।
सदरमुकाम गमगढी आसपासका भामबाडा, कार्कीबाडा, ढुम, निगाले, तुम, बाम, रोवा, रुगा लगायत जिल्लाका विभिन्न बस्तीहरूमा पनि भाइरल ज्वरो र रुघाखोकीको प्रकोप फैलिँदै गएको छ । दुर्गम बस्तीका नागरिक सामान्य उपचारका लागि पनि लामो दूरी हिँड्न बाध्य छन् ।
स्थानीयवासीहरू चुनावका बेला नेताहरूले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने, गाउँ–गाउँमा निःशुल्क औषधि र डाक्टरसहित सेवा पुर्याउने गरेका प्रतिबद्धता कागजमै सीमित भएको गुनासो गर्छन् ।
“चुनावमा आश्वासन मात्रै सुन्न पाइन्छ, बिरामी पर्दा राज्य देखिँदैन,” एक स्थानीयले भने, “अबको चुनावमा भोट नै नदिने सोचमा पुगेका छौँ ।”
मुगुमा देखिएको सिजनल भाइरल ज्वरो, रुघाखोकी र दमको बढ्दो प्रकोप नियन्त्रणका लागि गाउँ–गाउँमा उपचार सेवा, औषधि र स्वास्थ्यकर्मी परिचालन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँगै सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।



कागजपत्र |
