ओली र पोखरेल प्यानलसहित आमनेसामने, को-को बन्दैछन् उम्मेदवार ?


काठमाडौं-  नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता गरिनेछ भने मतदान भोलि हुने तय भएको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै समूहले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । नयाँ व्यवस्था अनुसार यसपटक १९ जना पदाधिकारी निर्वाचित हुनेछन् ।

अध्यक्ष ओली नेतृत्वको समूहबाट पदाधिकारीको सूची लगभग टुंगिएको जनाइएको छ । सो समूहका नेताका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्नेछन् । महासचिवमा शंकर पोखरेल दोहोरिने भएका छन् । उपमहासचिवमा रघुविर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकाल उम्मेदवार हुने भएका छन् । सचिव पदमा लेखराज भट्ट,  महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कडेल र हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पनि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गर्ने भएको छ । पोखरेल समूहका नेताहरूका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ ।

यसअघि महासचिवमा दाबी गर्दै आएका गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ भने बिन्दा पाण्डे र अरुण नेपाललगायतका नेताहरूको नाम पनि उपाध्यक्षमा चर्चामा रहेको छ । सचिव पदमा पोखरेल पक्षबाट विनोद ढकाल, गोकुल बास्कोटा, कर्ण थापा र ठाकुर गैरेको नाम लगभग टुंगिएको बताइएको छ । साथै कृष्णगोपाल श्रेष्ठ र पुरुषोत्तम पौडेललगायतका नेताहरूको नाम पनि सचिव पदका लागि चर्चामा छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुनेछ । आजै उम्मेदवारमाथि दाबी–विरोध, छानबिन तथा नाम फिर्ताको प्रक्रिया पूरा गरी साँझ ६ बजे अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया