बन्दसत्र अघि एमाले केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ।

दशौं महाधिवेशनबाट चुनिएको नेतृत्वको अन्तिम बैठक आज विहान ९ बजे बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार महाधिवेशनको बन्दसत्र भने सवा १२ बजेबाट मात्रै सुरु हुने भएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ। यसअघि बिहान साढे ८ बजेबाट बन्दसत्र हुने भनिएकोमा त्यसलाई सारेर सवा १२ मा पुर्‍याइएको हो।

एमालेका देशभर २ हजार २६२ प्रतिनिधि छनोट भएका छन्। यो शनिबार मनोनयन गरिएका १०८ सहितको संख्या हो। ती सबै प्रतिनिधिलाई बिहान र बेलुका खाना र खाजाको व्यवस्था गरिएको छ।

भृकुटीमण्डपमा करिब २६ सय व्यक्ति अटाउन सक्ने अस्थायी हल बनाएको पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले जानकारी दिए। उनका अनुसार बन्दसत्रलाई हाइटेक बनाइएको छ। विद्युतीय हाजिरी गर्ने मेसिनदेखि सेल्फी खिच्ने र टिकटक बनाउने प्वाइन्ट राखिएका छन्

त्यस्तै, कम्युनिस्ट इतिहास झल्किने तस्वीरहरू राखिएका छन् भने २३ जन वर्गीय संगठनले गरेका कामहरू देखिने तस्वीर प्रदर्शनीमा राखिएको श्रेष्ठले जानकारी दिए।

बन्दसत्रमा राजनीति, सांगठनिक प्रतिवेदन पेस हुनेछ। त्यस्तै, २२ मंसिरमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई बुझाइएको अवधारणापत्र प्रतिनिधिमाझ बाँडिनेछ।

प्रतिक्रिया