
भारतमा मेसीको आगमन उत्सवबाट अराजकतामा, कोलकातामा हुलदंगा
कोलकाता- विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीको बहुप्रतिक्षित ‘जीओएटी टुर २०२५’ भारतबाट सुरु भएको छ। अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेसी इन्टर मियामीका खेलाडी लुइस सुआरेज र रोड्रिगो डि पाउलसँगै तीनदिने भ्रमणका लागि कोलकाता पुगेका हुन्।
मध्यरातपछि नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मेसीलाई स्वागत गर्न हजारौँ प्रशंसक जम्मा भएका थिए। विमानस्थलदेखि होटलसम्म मेसीको नाममा नाराबाजी भएको थियो। यो मेसीको १४ वर्षपछि भारत भ्रमण हो। सन् २०११ मा उनले साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीचको मैत्रीपूर्ण खेल खेलेका थिए।
भ्रमणको पहिलो दिन मेसीले स्पोन्सर्ड कार्यक्रमपछि लेक टाउनमा निर्माण गरिएको ७० फिट अग्लो प्रतिमा भर्चुअल रूपमा अनावरण गरे। श्रीभूमि स्पोर्टिङ क्लबले निर्माण गरेको उक्त प्रतिमाको अनावरण कार्यक्रममा बलिउड अभिनेता शाहरुख खान पनि सहभागी थिए। त्यसपछि मेसी साल्ट लेक स्टेडियम पुगे, जहाँ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी, पूर्वक्रिकेटर सौरभ गांगुली र अन्य सेलिब्रेटीको उपस्थितिमा सम्मान कार्यक्रम तय गरिएको थियो। कार्यक्रममा युवा खेलाडीहरूसँग अन्तरक्रिया र प्रदर्शनी खेल पनि राखिएको थियो।
तर कार्यक्रम सुरु भएलगत्तै अत्यधिक भीडका कारण अवस्था नियन्त्रणबाहिर गयो। सुरक्षा कारणले मेसीलाई भिआइपी घेरामा राख्दा दर्शकहरूले उनलाई राम्रोसँग देख्न पाएनन्। मेसीले छोटो समयमै ‘ल्याप अफ अनर’ गरे पनि सुरक्षा जोखिम देखिएपछि १०–२० मिनेटमै स्टेडियम छाडे।
यसपछि महँगो टिकट (४ हजारदेखि १८ हजार भारूसम्म) किनेर आएका प्रशंसक आक्रोशित बने। भीडले कुर्सी तोडफोड गर्नुका साथै प्लास्टिक बोतल र अन्य सामग्री प्रहार गर्यो। स्टेडियममा हुलदंगा र तोडफोड मच्चियो।
घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सामाजिक सञ्जालमार्फत मेसी र प्रशंसकहरूसँग माफी मागिन्। उनले खराब व्यवस्थापनप्रति दुःख व्यक्त गर्दै आयोजकको कमजोरीका कारण घटना भएको बताइन् र छानबिनको माग गरिन्। राज्यपाल सीभी आनन्द बोसले पनि घटनाबारे विस्तृत प्रतिवेदन मागेका छन्।



कागजपत्र |
