
प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस
डडेल्धुरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएको छ।
नेपाली कांग्रेस डडेल्धुराको आज बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश कमिटीलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिएका छन्।
डडेल्धुरा कांग्रेसका नेताहरुसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए। देउवाले डडेल्धुराबाट आठौंपटक संघीय निर्वाचनमा भाग लिन तयारी गरिरहेका छन्। यसअघि उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाट विजयी भइसकेका छन्।
समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गर्ने तयारी रहेको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिएका छन्।



कागजपत्र |
