
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी
ओखलढुङ्गा – ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।
गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए । केही समय अगाडि गृहमन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए । बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका
लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।
ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । “अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ”, विव्यस अध्यक्ष भण्डारीले भने, “जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौँ ।” उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ ।



कागजपत्र |
