
दुर्घटना बढेपछि धोबीखोला करिडोरमा रेलिङ राख्न थालियो
काठमाडौं – काठमाडौंको रुद्रमति पुलनजिक रहेको धोबीखोला करिडोरमा निरन्तर दुर्घटना बढेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै पहलमा रेलिङ जडान गर्न थालेका छन्। करिडोरको सडक किनारमा रेलिङ नहुँदा रातको समयमा बारम्बार दुर्घटना हुने र अहिलेसम्म दुई जनाको मृत्यु समेत भइसकेका कारण स्थानीयहरूले स्व–खर्चमा रेलिङ राख्न सुरु गरेको बताइएको छ।
स्थानीयका अनुसार पुलनजिकको बाटो अँध्यारो र संकुचित छ र रेलिङ नहुँदा झुक्किएर सवारीसाधन वा पैदल यात्रु खोलातर्फ खस्ने घटना हुँदै आएका छन्। निरन्तर दुर्घटना हुँदा पनि सम्बन्धित सरकारी निकायले चासो नदेखाएको भन्दै स्थानीयले सामूहिक रूपमा पहल गर्नुपरेको व्यवसायी मोहन भण्डारीले बताए।
बिहीबार बिहान पनि रुद्रमति पुलनजिकै एक व्यक्ति साइकलसहित मृत अवस्थामा फेला परेका थिए। रातिको समयमा साइकल चलाइरहेका ती व्यक्ति झुक्किएर खोलामा खसेको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ।
यसअघि पनि कार, ट्याक्सी, मोटरसाइकल र पैदल यात्रुसमेत खोलामा खस्ने घटनाहरू पटक–पटक दोहोरिएका छन्।



कागजपत्र |
