
कांग्रेसले उम्मेदवार चयनका लागि ताेक्याे १० मापदण्ड
काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र जारी गरेको छ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रअनुसार उम्मेदवार चयनका लागि १० मापदण्ड तोकिएका छन्।
कांग्रेसले कुनै पनि प्रकारका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरू र पार्टीका लागि तोकिएको सहयोग रकम (लेवी) नबुझाउने व्यक्तिहरूलाई उम्मेदवार बनाउने अनुमति नदिने जनाएको छ।
कांग्रेसले तोकेको १० मापदण्ड
१. उम्मेदवार नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३० अनुसार योग्यता पुगेको हुनुपर्ने।
२. जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार हुन अयोग्य।
३. २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा वा प्रदेश सभा सदस्य समानुपातिकतर्फ निर्वाचित भएका व्यक्ति आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन सक्दैनन्।
४. २०७९ को प्रदेश सभा समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिहरू प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि उम्मेदवार हुन पाउने छैनन्।
५. तोकिएको उम्मेदवारको संख्या भन्दा बढी नाम सिफारिस गर्न पाइने छैन।
६. प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये एक व्यक्ति एक पदका लागि मात्र सिफारिस हुन सक्नेछ।
७. प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।
८. समानुपातिक उम्मेदवारले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, मतदाता नामावली निस्सा, पार्टी प्रतिबद्धता पत्र, निर्वाचन आयोगको स्वघोषणापत्र, उम्मेदवारको व्यक्तिगत विवरण र सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको प्रमाण पेश गर्नुपर्नेछ।
९. २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट पार्टी तर्फ निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुन पाउने छैनन्।
१०. पार्टीका क्रियाशील सदस्य, पदाधिकारी वा सदस्यहरूले तोकिएको सहयोग रकम (लेवी) नबुझाए उम्मेदवार हुन पाउने छैनन्।



कागजपत्र |
