म्याग्दीमा बेपत्ता जर्मन पर्यटक मृत फेला, भीरबाट खसेको आशंका


म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटोतर्फ जाँदै बेपत्ता भएकी एक जर्मन पर्यटक मृत अवस्थामा फेला परेकी छन्। मंसिर ९ देखि सञ्चारविहीन रहेकी वाइसर एस्ट्रिड एलिजाबेथ को शव सोमबार दिउँसो भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार एलिजाबेथको शव अन्नपूर्ण गाउँपालिका–५ स्थित ‘बङ्कर’ क्षेत्रको भीरमुनी करिब १६० मिटर तल रहेको निगालोको झाडीभित्र भेटिएको हो। बेपत्ता भएपछि लगातार खोजीमा खटिएका स्थानीय, पथप्रदर्शक र सुरक्षाकर्मीले शव फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए।

शव परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी खोप्रोमा एक रात बिताएर दोबाटोतर्फ एक्लै यात्रा गर्ने क्रममा भीरबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया