क्याप्टेन विजय लामासँगै पाइलट सोनी राणा पनि ग्राउन्डेड


काठमाडौं-  उडान सञ्चालन नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड (कारबाही) गरेको छ। प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले शुक्रबार निगमलाई पत्राचार गर्दै निगमको वाइडबडी जहाजका क्याप्टेन विजय लामा र सोनी राणालाई उडानमा फोटो/भिडियोग्राफी गरेको आरोपमा सक्रिय उडान ड्युटीबाट रोस्टर–अफ गरिएको जनाएको छ।

निगमका फ्लाइट अपरेसन डिभिजन प्रमुख पाइलट संगम कार्कीले हस्ताक्षर गरेको निर्देशनअनुसार दुवै पाइलट अर्को सूचना जारी नभएसम्म उडानमा सहभागी हुन पाउने छैनन्। नेपालको उड्डयन नियमले विमानमा उडान सञ्चालनका क्रममा फोटो/भिडियोग्राफी गर्ने दुवै पाइलटको गतिविधिलाई सुरक्षा नियम उल्लंघनको रूपमा मान्दछ।

क्याप्टेन लामालाई यही आरोपमा चौथो पटक ग्राउन्डेड गरिएको हो। १८ महिनाअघि यस्तै घटनामा उनलाई माफी मागेपछि कारबाही फुकुवा गरिएको थियो।

प्राधिकरणले जहाजको टेकअफ र ल्यान्डिङका क्रममा पनि भिडियोग्राफी गरिएको उजुरी आएको हुँदा त्यस विषयमा पनि छानबिन हुने जनाएको छ।

प्रतिक्रिया