पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको पोखराले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।

पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेले । उनले २९ बलमा २ चौका र ४ छक्कासहित ५० रन जोडे । सुमितलाई राम्रो साथ दिएका तीर्थराज दासले २९ रन बनाए ।

ओपनरद्वय राम्रो सुरुवात गरेका थिए । दीनेश खरेलले ३८ रन बनाउँदा अर्का ओपनर एडम रोसिङटन २४ रनमा आउट भए । उनीहरूले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

कप्तान कुशल भुर्तेल भने गोल्डेन डकआउट भए । जिम्मी निसमले १ रनमै आउट हुन पुगे ।

जनकपुरका लागि संजय कृष्णमूर्तिले एकै ओभरमा दुईसहित तीन विकेट लिँदा कप्तान अनिल साह र ललित राजवंशीले एक-एक विकेट लिए ।

प्रतिक्रिया