
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं – पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बन्दै ऐतिहासिक सफलता हात पारेको नेपाली राष्ट्रिय टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले सोमवार बालुवाटारमा सम्मानसहित बधाई तथा शुभकामना दिएकी छन्। सीमित स्रोतसाधनका बाबजुद विश्वमञ्चमा नेपालको शिर उचो बनाएको भन्दै उनले नेपाली खेलाडीको आत्मविश्वास, मेहनत र समर्पणको प्रशंसा गरिन्।
श्रीलंकामा सम्पन्न प्रतियोगितामा प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोली उपविजेता बनेको थियो। नेपाली टोलीले खेलकुद इतिहासमै नयाँ अध्याय कोर्दै दृष्टिविहीन क्रिकेटमा विश्वकै ध्यान नेपालतर्फ मोड्न सफल भएको सरकारको मूल्यांकन छ।
खेलाडीहरूको उत्साहवर्धन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “यो नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गर्वको विषय हो। तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पकै कारण यो सफलता सम्भव भएको हो। हरेक खेलाडी र अफिसियल यस उपलब्धिको पूर्ण हकदार हुनुहुन्छ।”
प्रधानमन्त्रीले आगामी दिनमा अझ कडा मेहनत गरेर विश्व च्याम्पियन बन्ने लक्ष्य राख्नुपर्नेमा जोड दिइन्। उनले राज्यले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको स्वीकार गर्दै खेलाडीले आफ्नै पहलमा देखाएको प्रतिभा ‘अत्यन्तै सह्राहनीय’ रहेको बताइन्।
“आफ्नै पहलमा तपाईंहरूले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै प्रशंसनीय छ। सरकारले केही लगानी गर्न सके पनि अझ ठूलो प्रगति गर्न सकिन्छ,” प्रधानमन्त्रीले भनिन्, “सरकारका तर्फबाट के–के गर्न सकिन्छ भन्नेबारे म सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्छु।”
भेटका क्रममा खेलाडी तथा अफिसियलहरूले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई चुनौती दिँदै फाइनलसम्म पुगेको अनुभव साझा गरे। उनीहरूले आवश्यक सहयोग पाउन सके आगामी संस्करणमा च्याम्पियन बन्न सकिने विश्वास व्यक्त गरे।



कागजपत्र |
