विराटनगरमा ‘सांकेतिक चेतावनी’ भन्दै महेश बस्नेतको गाडीमा रातो रङ प्रहार


सुनसरी-  नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि आज बिहान विराटनगर विमानस्थलनजिक जेनजी समूहका युवाले आक्रमणको प्रयास गरेका छन्। युवा संघको जनजागरण अभियानमा सहभागी हुन बस्नेत श्री एयरको १०:५० बजेको उडानमार्फत विराटनगर झरेका बेला दुर्व्यवहारको घटना भएको हो।

बस्नेत, भानुभक्त आचार्यलगायत नेताहरू सवार गाडी विमानस्थलको गेट नजिक पुग्दा दुई युवाले रातो मसी र बेलुनमा राखिएको रङ प्रहार गरेका थिए। उनीहरूले ‘जेनजी आन्दोलनविरुद्ध सक्रिय एमाले नेताहरूलाई सचेत गराउन प्रतीकात्मक विरोध गरिएको’ दाबी गरेका छन्।

रातो मसी छ्याप्नेहरु विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सञ्जोग गौतम रहेको प्रहरीले जनाएको छ। दुवै जनालाई घटनास्थलमै नियन्त्रणमा लिइएको हो।

जेनजी अगुवा भावना राउतले पनि बस्नेतमाथि गाडी लक्षित गरी रातो रंग प्रहार भएको पुष्टि गर्दै, यो ‘जेन–जी पुस्ताको असन्तुष्टिको संकेत मात्र’ भएको बताइन्।

उता जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले आक्रमणको प्रयास भएको स्वीकार गर्दै बस्नेत सकुशल रहेको जानकारी दिइन्।

प्रतिक्रिया