
सुनसरी खोलामा बगेर बेपत्ता देवेन्द्रको शव फेला, एकजनाकाे जिवितै उद्धार
सुनसरी — रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकको सुनसरी खोलामा बेपत्ता भएका मोरङ्ग सुन्दरहरैचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको शव बुधबार सशस्त्र प्रहरीले फेला पारेको छ। उनीसँगै खोलामा नुहाउन गएका इटहरी उपमहानगर–१३ का ५४ वर्षीय रोहित काफ्लेलाई भने जीवितै उद्धार गरी उपचारका लागि झुम्कास्थित साई अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
भट्टराई र रोहित काफ्ले उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भिमराज काफ्लेसँग खोलामा गएका थिए। भिमराज काफ्ले नुहाएर फर्किने क्रममा दुवै साथी खोलामा बगिरहेको देखेपछि तत्काल जानकारी गराएका थिए।
घटनापछि मन्दिर सुरक्षामा खटिएको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको कमाण्डमा पुगेको विपद् व्यवस्थापन तालिम प्राप्त टिमले तत्काल खोज तथा उद्धार कार्य थालेको थियो। सोही क्रममा रोहित काफ्लेलाई जिवितै बचाइएको हो।
देवेन्द्र भट्टराईको शव भने घटनास्थलदेखि करिब ५० मिटर तल खोलामा फेला परेको प्रहरीले बताएको छ। उद्धार गरिएका रोहित काफ्लेको अवस्था सामान्य रहेको जनाइएको छ।



कागजपत्र |
