


देउवाले बोलाएको तीन दलीय बैठकमा जसपाले गर्नेछ यस्तो दाबी, अप्ठ्यारोमा माओवादी

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक सानेपामा बोलाएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार गठनमा संख्याको सुनिश्चितताका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बैठक डाकेका हुन्।
माओवादी केन्द्रले कांग्रेस सरकार नेतृत्वका लागि अग्रसर रहेको भन्दै ओलीको विकल्पमा अविश्वासको प्रस्ताव दर्तासँगै समर्थन फिर्ता लिने बताउँदै आएको छ। तर जसपाभित्रको अन्तरविरोधका कारणले ओलीको विकल्पमा सरकार बन्ने अवस्था नरहेको माओवादीको बुझाई छ।
तीन दलीय बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि तयार भएको प्रस्ताव राख्दै माओवादी केन्द्र र जसपासँग लिखित रुपमा ओलीविरुद्ध स्पष्ट बहुमत हस्ताक्षरको माग गर्नेछ।
देउवाले विहीबार मात्र झापामा भनेका थिए,‘संख्या सुनिश्चित नभएका कारण विकल्पको सरकार गठनका लागि अलमल भएको हो, संख्या चाहियो नि संख्या त्यसै सरकार गठन हुन्छ?’
माओवादी केन्द्रले भने लेखेरै देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्ने जनाउ दिइसकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त पटक–पटक प्रधानमन्त्रीको प्रस्ताव लिएर बुढानिलकण्ठ पुगेका थिए।
जसपाको दाबी
तीन दलको बैठकम ओलीको विकल्पमा बन्ने सरकारका लागि जसपाले प्रधानमन्त्रीको दाबी गर्ने भएको छ। जसपाभित्रको महन्थ ठाकुर खेमाले प्रधानमन्त्रीमा जसपालाई समर्थन गर्नका लागि प्रस्ताव गर्नेछ।
जसपा स्रोतका अनुसार आगामी प्रधानमन्त्रीका लागि महन्थ ठाकुरलाई समर्थन गर्ने प्रस्ताव तीन दलीय बैठकमा राखिनेछ। यस्तो प्रस्तावमा माओवादी समर्थनमा आए पनि कांग्रेसले नमान्ने बुझिएको छ।
‘प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री हुन्छ। यसकारण सभापति देउवाको विकल्पमा प्रधानमन्त्री अर्को पार्टीलाई दिने कुरा आउँदैन, जसपाको यस्तो प्रस्ताव अडान आयो भने सहमति नहुन सक्छ’, कांग्रेस स्रोतले भन्यो।
कतिपय मिडियामा जसपाका अध्यक्ष ठाकुरलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आगामी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्ने चर्चा चलिरहेका बेला जसपाको यस्तो दाबी तीन दलीय बैठकमा हुने लगभग निश्चित रहेको बताइन्छ।

