
विराटनगरले पोखरालाई दियो २२१ रनको लक्ष्य
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको खेल एकदमै धमाकेदार रह्यो। विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई एनपीएल इतिहासकै सबैभन्दा ठूलो २२१ रनको लक्ष्य छोडेकाे छ।
कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१ रनको पहाड खडा गर्यो। यसअघि पहिलो सिजनमा लुम्बिनी आइकन्सले विराटनगरलाई १९१ रनको लक्ष्य दिएको कीर्तिमान यो पारीपछि भत्किएको छ। त्यो खेलमा विराटनगरले १९३ रन बनाउँदै लक्ष्य समेत पच्छ्याएको थियो।
मंगलबार विराटनगरले अर्को ऐतिहासिक उपलब्धि समेत जोडेको छ। यस सिजनमा पहिलोपटक एउटै खेलमा एउटै टिमका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन्। ओपनर लोकेश बम र अनुभवी स्टार मार्टिन गुप्टिल दुवै अर्धशतकसहित चम्किए।
लोकेशले ४८ बलमा ७ छक्का र १ चौकासहित ७२ रन बनाए। गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै तेज गतिमा ६१ रन थपे। यी दुईको विस्फोटक ब्याटिङकै बलमा विराटनगरले कीर्तिमानी स्कोर बनाउन सफल भएको हो।



कागजपत्र |
