
फेरि फोहोर विसर्जन रोक्दै धुनिबेशी र ककनीका स्थानीय
काठमाडौं- धुनिबेशी र ककनी क्षेत्रका स्थानीयले फोहोर विसर्जनमा अवरोध सिर्जना गर्दै काठमाडौं महानगरपालिकामा विरोध जारी राखेका छन्। गत १२ कात्तिकमा स्थानीयले फोहोर विसर्जन रोक्दा महानगरपालिकाले १४ कात्तिकमा घरभित्रै फोहोर राख्न सूचना जारी गरेको थियो।
सहरी विकासमन्त्री कुलमान घिसिङले १६ कात्तिकमा बञ्चरेडाँडा ल्याण्डफिल साइटमा गएर १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले अस्थायी रूपमा फोहोर फाल्न अनुमति दिएका थिए। तर, समयसीमा सकिएपनि समस्या समाधान नभएपछि स्थानीयहरूले अब फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने निर्णय गरेका छन्।
स्थानीयहरूले महानगरपालिका र मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गर्दै आफूहरूलाई बारम्बार धोका दिइएको आरोप लगाए। २०७९ जेठ २६ मा १८ बुँदे सहमति भए पनि त्यसको पालना नभएपछि दुर्गन्ध र फोहोरले स्वास्थ्यमा जोखिम बढाएको उनीहरूले बताए।
धुनिबेशी र ककनी क्षेत्रका स्थानीयहरूले काठमाडौं महानगरका फोहोर ढुवानी गर्ने गाडी चालक तथा निजी वाहन चालकलाई बुधबारदेखि फोहोर नल्याउन चेतावनी दिएका छन्।



कागजपत्र |
