बालेन, रवि, हर्क, कुलमान, सुमना, सागरलाई एकै ठाउँमा उभिन सुदन गुरुङको आग्रह


काठमाडौं-  जेनजी अभियानका अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले देशमा वैकल्पिक नागरिक शक्तिको आवश्यकता तीव्र रूपमा बढेको भन्दै चर्चित सार्वजनिक व्यक्तित्वलाई एउटै मञ्चमा उभिन खुलेर आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीप्रेम होइन, देशप्रेमी नेपालीको अभूतपूर्व एकता अब अपरिहार्य भएको बताएका छन्।

गुरुङले बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकालसहित वर्तमान पुस्ताले विश्वास गरेका चर्चित अनुहारलाई ‘एकै ठाउँमा सँगै उभिनुहोस्’ भन्दै सार्वजनिक आव्हान गरे। “हामी सम्पूर्ण नेपालीको एउटै चाहना छ। तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,” उनले लेखेका छन्।

उनका अनुसार जेनजी अभियानको पहिलो चरण पूरा भइसकेको छ। ७ वटै प्रदेश, ७७ वटै जिल्ला, सबै स्थानीय तह र वडास्तरसम्म युवापुस्ता अब संगठनगत रूपमा एकजुट भइसकेको दाबी उनले गरे। अब दोस्रो चरणमा सबै पुस्ता जोड्ने गरी एक डिजिटल प्लेटफर्म छिट्टै सार्वजनिक गरिने गुरुङले जानकारी दिए।

दोस्रो चरणको मूल लक्ष्य भनेकै जनताले भरोसा गरेका जिम्मेवार र लोकप्रिय व्यक्तित्वलाई एकै मञ्चमा ल्याउँदै ‘देश परिवर्तन’ अभियानलाई व्यापक बनाउनु रहेको उनले बताए।

गुरुङले गोरखाबाट राष्ट्र निर्माणको ऐतिहासिक यात्रा सुरु भएको स्मरण गर्दै यो अभियान पनि त्यही स्थानबाटै सुरु गर्ने घोषणा गरे। “जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, उही ठाउँबाट आशीर्वाद लिएर नयाँ देश परिवर्तन अभियान थाल्दैछौँ,” उनले भने।

 

प्रतिक्रिया