लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ देखि


काठमाडौं – लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले मंसिर ८ गतेका लागि हिउँदे अधिवेशन आह्वान गरेका छन्। मंसिर ८ गते दिउँसो १ बजे शुरू हुने गरी प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले जानकारी दिए।

कात्तिक २४ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुरूप मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन सिफारिस गरेका थिए। सोही अनुरूप प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन्।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै दर्ता भइसकेका छन्।

त्यस्तै दलित अधिकारसम्बन्धी विधेयक र थारूहरूको बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ। विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता गर्ने तयारीमा छन्।

यो सातौँ अधिवेशन हो। छैटौँ अधिवेशन गत गत भदौ ३१ गते अन्त्य गरिएको थियो।

 

प्रतिक्रिया