
महामन्त्री थापा–शर्मा असफल, राजीनामा दिनुपर्छ : जीतजंग बस्नेत
काठमाडौ.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले महामन्त्रीहरूले आफ्नो पदीय दायित्व पूरा गर्न नसकेको र तत्काल राजीनामा दिनुपर्ने बताए । उनका अनुसार सभापतिमाथि भएको भौतिक आक्रमण र पार्टी कार्यालयमा आगजनी हुँदा पनि महामन्त्रीहरूले जिम्मेवारी निभाउन सकेका छैनन् ।
बस्नेतले महामन्त्रीद्वयको अगुवाइमा भइरहेको विशेष महाधिवेशनको मागलाई ‘सङ्गठन कब्जा गर्ने षड्यन्त्र’ भनेका छन् । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आतङ्कवादी गतिविधि भएको र त्यसको प्राथमिकता नेतृत्व परिवर्तन नभइ पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । “नियमित महाधिवेशन रोकिएको जिम्मेवारी क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्री हुनुहुन्छ। तर काम नगर्ने र दोष अरूलाई थोप्ने प्रवृत्ति किन ?” उनले भने ।



कागजपत्र |
