
महाधिवेशनबारे सहमति नजुटे पार्टी चिरिन सक्छ : शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशन सम्बन्धी विवाद गम्भीर बन्दै गएको बताउँदै यसले पार्टी विभाजनसम्मको अवस्था निम्त्याउन सक्छ भन्ने चेतावनी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले समयमै निर्णय नगरे दुई भागमा चिरिन सक्ने अवस्था देखिएको बताए।
उनका अनुसार, विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको छ। ती हस्ताक्षर प्रमाणीकरण प्रक्रिया सुरु हुनेबित्तिकै कांग्रेस विभाजनको सम्भावना बलियो हुने उनको तर्क छ।
कोइरालाले भने, “विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरूको हस्ताक्षर प्रमाणीकरण सुरु भएको दिनदेखि नै विभाजनको खतरा हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत अलगिन सक्छन्।”
उनले बहुमत हस्ताक्षरको आधारमा महाधिवेशन हुने विषयमा शंका नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट निष्कर्ष निकालिनु पर्नेमा जोड दिए। नेता कोइरालाले आफू मध्यमार्गी भूमिकामा बसेर पार्टी एकता बचाउन प्रयासरत रहेको पनि बताए।



कागजपत्र |
