
मधेशमा नियुक्त भए मुख्यमन्त्री, बर्दिबासको होटलमा सपथ
काठमाडौं – नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्।
बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। आफूसहित चार मन्त्रीले केहीबेरअघि प्रदेशप्रमुखबाट शपथ खाएको यादवले जानकारी दिए। आफूसँगै तीन मन्त्रीले पनि शपथ लिएको बताए। ‘म हिजो बेलुकी नै मुख्यमन्त्री नियुक्त भएको हुँ’, उनले भने, ‘प्रदेशप्रमुखज्यू बिरामी भएर काठमाडौँ जान लाग्नुभएकाले हतारहतार होटलमै शपथ लिएका हौँ।’
संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन्।
प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै सोमबार बिहानै जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्। मुख्यमन्त्रीका हैसियतमा सोनलले उनलाई बिदाइ गरेका थिए।
यसअघि आइतबार बेलुकी नेपाली कांग्रेस, , जसपा, जनमतलगायत सात दलका ७८ प्रदेश सभा सदस्यले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।



कागजपत्र |
