
गगन थापालाई पौडेलको चेतावनी– स्पोन्सर्ड प्रचारले महाधिवेशन हुँदैन
काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता किरण पौडेलले पार्टीका दुवै महामन्त्री, गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि कडा आपत्ति जनाएका छन्। उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा महामन्त्रीहरू अग्रसर हुनु नै अस्वाभाविक रहेको टिप्पणी गर्दै पार्टीभित्रको विवाद र जेनजी आन्दोलन उत्पत्ति पदाधिकारीकै गैरजिम्मेवार भूमिकाका कारण भएको दाबी गरे।
शुक्रबारको बैठकमा पौडेलले १४औँ महाधिवेशनमा गगन थापा ६३ प्रतिशत मतले विजयी भए पनि विशेष महाधिवेशनका पक्षमा केवल ५४ प्रतिशतले मात्र हस्ताक्षर गर्नु पछाडि नौ प्रतिशतले साथ छाड्नुका कारण खोजिने माग गरे। “करकापमा पारेर हस्ताक्षर गराइयो, अब अलपत्र पार्दा इतिहासले के पुरस्कार देला ?” पौडेलको प्रश्न थियो।
महामन्त्रीहरूले मिडिया प्रचारमा मात्र ध्यान दिएको, सदस्यता व्यवस्थापन गर्न नसकेको र पार्टी निर्माणमा उदासीन भएको आरोप उनले लगाए। “कागज देखाएर, स्पोन्सर्ड अनलाइनमा डिजाइन छापेर महाधिवेशन हुँदैन,” उनले भने।
पौडेलले तरुण दल तथा नेविसंघलाई सुदृढ रुपमा सञ्चालन गर्न नसक्दा पार्टीभित्र आन्दोलन र असन्तोष बढेको बताए। आफूले ४५ वर्षको सक्रिय राजनीतामा कहिल्यै पद नलिएको उल्लेख गर्दै उनले पदाधिकारीले निष्ठावान् कार्यकर्तालाई अपमान गरेको आरोप लगाए।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएकाहरूलाई देखाएर शक्ति प्रदर्शन गरिनु नै नेतृत्वको स्वार्थ पुष्टि गर्ने व्यवहार भएको उनको भनाइ छ। पौडेलले विवाद चर्काउने रणनीति छाडेर प्रक्रियाभित्र बसेर काम गर्न आग्रह गर्दै उनले भने, “आत्मालोचना र जिम्मेवारीसहित अघि बढे मात्रै महाधिवेशन सम्भव हुन्छ।”



कागजपत्र |
