
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरू
काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छपाइ गर्न थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छपाइको कार्य प्रारम्भ गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण केन्द्रको मसिनमा बटन थिचेर लाइसेन्स छपाइ कार्यको उद्घाटन गरे । उनले कानुनी उल्झन र विविध कठिनाइबिच पनि आवश्यक तयारी पूरा गरी सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरिएको बताए ।
उनका अनुसार सुरक्षण मुद्रण केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, हुलाक टिकट, स्टिकरलगायत सामग्री पनि छपाइ गर्न सकिने क्षमता छ । तर विगतमा विदेशी कम्पनीलाई ठेक्का दिँदा देशको ठुलो रकम बाहिर जाने र सुरक्षासम्बन्धी प्रश्न उठ्ने गरेको उनले उल्लेख गरे ।
मन्त्री खरेलले नीतिगत सुधार, कानुनी प्रक्रिया र स्रोत–साधन व्यवस्थापनमार्फत अबदेखि आवश्यक सरकारी मुद्रण कार्य क्रमशः केन्द्रमै गर्ने तयारी रहेको बताए । “अदालत र अख्तियारमा मुद्दा र उजुरीबिच पनि हामीले कानुनी बाटो मिलाएर यो सुरुवात गरेका हौँ । यसले मुलुकको पैसा बाहिर जान रोक्नेछ र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि यो राम्रो कदम हो,” उनले भने ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले कानुनी उल्झन र प्राविधिक जटिलता समाधानपछि आजदेखि छपाइ कार्य सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौताअनुसार कार्य सुरु भएको हो ।
हाल दैनिक ५०० प्रति छपाइ सुरु भएको र क्रमशः उत्पादन क्षमता बढाउँदै लैजाने तयारी रहेको केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाइ सुरु भएको छ भने कागजी छपाइको काम आगामी छ महिनाभित्र सुरु गरिने तयारी भइरहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।
उनका अनुसार सुरक्षण मुद्रण केन्द्रबाट आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ ।



कागजपत्र |
