२२ गतेदेखि स्वास्थ्यकर्मीहरू आन्दोलनमा जाने


काठमाडौं-  स्वास्थ्यकर्मीहरूका माग सम्बोधन नभएको गुनासो गर्दै नर्ससहित विभिन्न स्वास्थ्यकर्मी संगठनहरूले मङ्सिर २२ बाट चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्। मन्त्रालयले आफूले गरेको निर्णय र परिपत्र कार्यान्वयन गर्न असफल बनेको आरोप लगाउँदै उनीहरूले  विज्ञप्तिमार्फत सडक आन्दोलनको चेतावनी दिएका हुन्।

मागप्रति सम्वन्धित निकायले उदासीनता देखाएको, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको र आफ्ना जायज माग पूरा गर्न सरकार स्वयं जिम्मेवार नभएको स्वास्थ्यसंगठित निकायहरूको आरोप छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०७९/०६/२४ मा च.नं १८ मार्फत गरेको निर्णयअनुसार नर्स, डेन्टल साइन्स, डेन्टल हाइजेनिस्ट, फर्मासिस्ट, पब्लिक हेल्थ, ल्याब टेक्नोलोजिस्ट, हेल्थ असिस्टेन्ट, सिएमए, रेडियोलोजी, आँखा, फिजियोथेरापी, आयुर्वेद, वैकल्पिक चिकित्सक, चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई सरकार सरह पारिश्रमिक उपलब्ध गराउने, अतिरिक्त समयको भत्ता दिने, ज्याला दरमा काम गराउन नहुने, बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने, सक्कली प्रमाणपत्र नजफत गर्ने, अनुभव पत्र उपलब्ध गराउने र विभिन्न काउन्सिलले तोकेअनुसार दर्तावाल जनशक्ति अनिवार्य गर्ने व्यवस्था लागू गर्नुपर्ने निर्णय भएको थियो।

तर, परिपत्र भएको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्वास्थ्यकर्मीहरूले आन्दोलनबाट हुनसक्ने सम्पूर्ण असुविधाका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय नै जिम्मेवार हुने स्पष्ट पारेका छन्।

यी हुन् माग:

-सरकारले तोकेअनुसार पारिश्रमिक सरकार सरह दिनु

-ओभरटाइम कामको अतिरिक्त भत्ता प्रदान

-ज्यालादारीमा नचलाउने

-बैंकिङ प्रणालीमार्फत तलब–भत्ता भुक्तानी

-सक्कली प्रमाणपत्र रोक्न नपाइने

-अनुभव पत्र अनिवार्य रूपमा उपलब्ध गराउने

-काउन्सिल–परिषदले तोकेका दर्तावाल जनशक्ति अनिवार्य गर्ने

 

प्रतिक्रिया