
झाँक्री एकीकृत समाजवादीबाट अलग, एमाले फर्कने तयारी
काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी विघटनसँगै आफ्नो राजनीतिक यात्रा पनि त्यसै पार्टीसँग टुंगिएको घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी आज दिउँसो १ बजेदेखि विघटन हुने निर्णय भएकाले आफू पनि सो पार्टीबाट अलग भएको स्पष्ट पारिन्।
उनका अनुसार जनताको भरोसा जित्ने उद्देश्यले एकीकृत समाजवादी निर्माण गरिएको भए पनि आज त्यो अभियान ‘पज’ अवस्थामा पुगेको हो। ‘यो बाटो अवरुद्ध भएको धेरै अगाडि थाहा थियो, तर विविध कारणले रोक्न सकिएन,’ झाँक्रीले भनिन्। ‘जेनजी आन्दोलनपछि आएको परिस्थितिमा हाम्रो पनि केही भूमिका रहेकाले माफी चाहन्छौँ,’ उनले आत्मालोचना गर्दै भनिन्।
एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई मिलेर अघि बढ्न उनले आह्वान गरिन्। एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरू नि:शर्त नेकपा एमालेमा फर्कने तयारीमा रहेको जानकारी गराउँदै सातै प्रदेशमा अभियान चलाएर नेता–कार्यकर्तालाई एमालेमा फर्काउने योजना रहेको बताए।
झाँक्रीले एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकताले वाम आन्दोलन कमजोर बनाउने दाबी गरिन्। विगतमा नेकपा (एमाले–माओवादी) एकीकृत हुँदा पार्टीभित्रको लोकतान्त्रिक संस्कृति कमजोर भएको बताउँदै उनले पुनः यस्तो एकताले आन्दोलन ह्वास गर्ने टिप्पणी गरिन्।



कागजपत्र |
