
निजीका नर्सहरूलाई पनि अब सरकारी सरह तलब
काठमाडौं- निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको आन्दोलन अन्त्यतर्फ उन्मुख भएको छ। शनिबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न वार्तामा सरकार, नर्सिङ संघ, निजी अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरूबीच सहमति जुटेको हो।
सहमति अनुसार ठूला निजी अस्पताल र मेडिकल कलेजहरूले कात्तिक महिनादेखि सरकारी दरअनुसार रु ३४,७३० तलब दिनेछन् भने साना निजी अस्पतालहरूले तत्कालका लागि त्यसको ८० प्रतिशत तलब दिने सहमति भएको छ। बाँकी संस्थाहरूले एक महिनाभित्र कार्यदलको प्रतिवेदनअनुसार पूर्ण कार्यान्वयन गर्नुपर्नेछ।
कार्यदलको म्याद एक महिना थपिएको छ। तर, जेनजी (जनरल नर्सिङ ग्रुप) तर्फबाट सहभागी नर्स प्रतिनिधिले पोशाक, हजर्ड र रात्रिकालीन भत्तासहितका सुविधा सुनिश्चित नभएको भन्दै सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।



कागजपत्र |
