चितवनको टिकाैली जंगलमा ट्रक र २ बस ठोक्किए, ३३ जना घाइते


चितवन – राैतहटबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

दुर्घटनामा तीनवटा सवारीसाधन एकापसमा ठोक्किएका थिए । रोकि राखेको ट्रकमा उक्त बस ठोक्किएको जनाइएको छ ।

गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

बस सडकमा पल्टिएको थियो । लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया