बीपी राजमार्गमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते


काठमाडाैं- सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा बिहान करिब ११ः१५ बजे सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनापछि अर्जेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरीले जनाएको छ।

उनीसँगै सवार श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन्।  घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया