नेतामाथि भएकाे प्रहारको हिसाबकिताब हुनेछ: अध्यक्ष गुरुङ


काठमाडौं-  नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेन–जी आन्दोलनका क्रममा नेताहरूमाथि भएको आक्रमण र सरकारी संरचना नष्ट गर्ने घटनाको कडाइका साथ हिसाब–किताब हुने बताएका छन्। तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा उनले आन्दोलनका नाममा भएको हिंसात्मक क्रियाकलाप र तोडफोडमा संलग्नलाई छिटोकारबाही गर्न सरकारप्रति आग्रह गरे।

गुरुङले भदौ २३ र २४ का घटनाक्रममा कतिपय विरोधी पार्टिहरू, राजावादी तत्त्व र विदेशी दलालहरूको घुसपैठ भएको दाबी गर्दै भने, “सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टी कार्यालय र हाम्रा नेताहरूको घरमा पेट्रोल बमले क्षति पुर्‍याउनेहरूलाई छिटोभन्दा छिटो कारबाही गरियोस्। नत्र हाम्रा नेताहरूमाथि निरन्तर कारबाही भइरह्यो भने हामी चुप बसेर बस्ने छैनौं।”

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानुनी रूपमा कारबाही गर्नुपर्ने र त्यसैअनुसार नेपाल तरुणदलले पनि आवश्यक हिसाब–किताब गर्ने जिम्मेवारी लिने बताए। उनले आगामी दिनमा मुलुकको व्यवस्था र पार्टीको अस्तित्व जोगाउन यस्तो हिंसात्मक तत्वविरुद्ध सडकमा उत्रनुपर्ने अवस्थाको सम्भावनापनि औँल्याए र कार्यकर्तालाई सतर्क रहन निर्देशन दिए।

गुरुङले अझै जोड दिँदै भने, “यदि यो मुलुकको व्यवस्था र हाम्रो अस्तित्व जोगाउनु छ भने यिनको विरुद्ध सडकमा भिड्ने बाहेक विकल्प छैन। आउने दिनमा हुने आन्दोलनका क्रममा यस्ता हर्कतहरू भए हामी चुप लागेर बस्ने छैनौं र तरुणदल सजग र तयारी अवस्थामा रहनेछ।”

उनले अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउन अग्रज नेताहरूलाई आग्रहसमेत गरे।

प्रतिक्रिया