तरुण दलको यात्रा- हिजोको गौरव, आजको चुनौती र भोलीको दिशा


नेपालको लोकतान्त्रिक इतिहासमा २०१० साल कार्तिक १० गतेको दिन केवल एक संगठनको जन्ममात्र थिएन, त्यो थियो युवाको चेतनाको पुनर्जागरण — नेपाली तरुण दलको स्थापना । बीपी कोईरालाले युवामा देखेका सपना, समाज परिवर्तनको उर्जा र विचारको बलमा देश निर्माण गर्ने लक्ष्य यस संगठनको मर्ममा निहित थियो ।

 

हिजोको तरुण दल : देश र विचारको रक्षक

हिजोको तरुण दल विचार र आन्दोलनको विद्यालय थियो । २०१७ सालको निरंकुशताको विरोधदेखि २०४६ सालको जनआन्दोलनसम्म युवाले निभाएको भूमिका ऐतिहासिक छ । तरुण दलका कार्यकर्ताले जेल, यातना, बन्दूक र अत्याचार सहँदै पनि लोकतन्त्रको मणिपाल जलाइरहेका थिए । त्यतिबेला नेताभन्दा ठूलो विचार थियो, पदभन्दा ठूलो संगठन थियो । हिजोको तरुण दल देश र जनताको पक्षमा उभिन्थ्यो, स्वार्थभन्दा माथि उठ्थ्यो ।

 

आजको तरुण दल : गुटको छायाँमा हराउँदै

तर आजको यथार्थ दुःखद छ । नेताहरूले संगठनलाई व्यक्तिगत स्वार्थ र गुटगत नियन्त्रणको माध्यम बनाएपछि तरुण दल आफ्नो मूल मर्मबाट भट्किएको छ । सत्ताको सौदाबाजीमा युवा संगठनको आवाज हराएको छ । संगठनका थुप्रै तहमा सक्रिय कार्यकर्ताले “बीपीको विचारभन्दा नेताको इशारा” पालना गर्न बाध्य भएको महसुस गर्न थालेका छन् । यही कारणले आज नेपाली कांग्रेसको जरो कमजोर हुँदै गएको छ, किनभने तरुण दल अब विचारको होइन, निर्देशनको संगठन जस्तो देखिन्छ ।

भारतको युवक कांग्रेस (Indian Youth Congress) — भारतमा इन्दिरा गान्धीले पार्टी सुदृढीकरणको लागि युवक कांग्रेसलाई पार्टीको विद्यालयका रूपमा विकास गरिन् । त्यहाँको युवाशक्ति आज पनि संगठनको मेरुदण्डका रूपमा काम गर्छ । अमेरिकाको Democratic Youth Federation — अमेरिकामा डेमोक्र्याटिक पार्टीको युवा संगठनले नयाँ पुस्ताको विचारलाई पार्टीको नीतिमा रूपान्तरण गर्ने अभ्यास गर्छ । त्यहाँ युवाले नीति निर्माणमा सिधा सहभागिता जनाउँछन् ।

यी उदाहरणहरूले देखाउँछन्,जहाँ युवालाई केवल हाजिरीका लागि होइन, विचारका लागि स्थान दिइन्छ, त्यहाँ पार्टी बलियो हुन्छ र जनता तानेर ल्याउन पर्दैन, आफैं तानिन्छन् ।

 

भोलीको तरुण दल : समयको माग अनुसारको पुनर्जागरण

अबको तरुण दलले पुरानो गौरव सम्झँदै, आजको गल्ती स्वीकार्दै, भोलीको दिशा तय गर्नुपर्छ ।  नेतृत्वले पुरानो ढंगबाट पार्टीका कार्यकर्तालाई परिचालन गर्ने भन्दा पनि नयाँ ढंगले सोच्नुपर्ने बेला भएको छ ।

  • पहिलो, संगठनलाई नेताको व्यक्तिगत नियन्त्रणबाट मुक्त गरेर संस्थागत बनाउने ।
  • दोस्रो, युवालाई नीतिगत स्तरसम्म पुर्‍याउने अवसर दिने ।
  • तेस्रो, शिक्षा, रोजगारी, सुशासन र भ्रष्टाचारविरोधी एजेन्डामा युवा नेतृत्वलाई सक्रिय बनाउने ।
  • चौथो, समाजमा पुनः विश्वास र प्रेरणाको माहोल सिर्जना गर्ने — जसले जनता भन्छन्, “तरुण दलको युवाले बोलेको कुरा कांग्रेसको आवाज हो।”

बीपी कोईरालाको सपना थियो — “विचारमा एकता, उद्देश्यमा स्पष्टता र आचरणमा इमानदारी।” त्यो भावनालाई पुनः जिउँदो बनाउन सकेमा मात्र कांग्रेस बलियो बन्नेछ, र जनता कांग्रेसमा आफ्नो भविष्य देख्नेछन् ।

आजको स्थापना दिवसको अवसरमा सगठनले यस्तो सन्देश दिन सकोस् कि, तरुण दल पुनः विचारको केन्द्र बनोस्, युवाको आवाज बनोस्, र जनताको मन जित्ने संगठन बनोस् ।

प्रतिक्रिया