जेन्जी आन्दोलनपछि आक्रोशित उद्योगी- ‘बन्द व्यापार ! खुल्ला छ त केवल राजनीति !’


काठमाडौं – जेन्जी आन्दोलनले देशको राजनीतिक हावा त हल्लायो, तर त्यसको प्रत्यक्ष प्रभाव अहिले देशको अर्थतन्त्रमा देखिन थालेको छ। ठूला–ठूला होटलदेखि उद्योगसम्म बन्द भइरहेका छन्, र व्यवसायी वर्गमा असन्तोष खुलेर बाहिर आएको छ।

लामो समयदेखि निजी क्षेत्रका सशक्त प्रतिनिधि रहेका प्रबलजंग पाण्डेले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भनाइ अहिले व्यापारी वर्गको सामूहिक मनोभाव बनेको छ — ‘हायात होटल बन्द, हिल्टन होटल बन्द, पोखराका केही होटल बन्द, भाटभटेनीका आधा स्टोर बन्द, धेरै कलकारखाना माग कम भएर बन्द… तर खुल्ला छ त केवल राजनीतिक दल दर्ता र कार्यकर्ता भर्ति।’

यो वाक्यमा निहित अर्थ स्पष्ट छ — देशमा आज व्यवसायभन्दा बढी राजनीति खुला छ, र उत्पादनभन्दा बढी विरोधको होड चलेको छ।

 

जेन्जी आन्दोलनपछिको आर्थिक झट्का

जेन्जी आन्दोलनले युवामा नयाँ राजनीतिक चेतना जगायो, तर लगानीकर्ता र व्यवसायीमा असुरक्षा पनि बढायो । बैंकहरूले कर्जा प्रवाह घटाए, पर्यटन र होटल उद्योग धरासायी बने, उत्पादनशील क्षेत्रमा माग घट्यो, ३० ठूला उद्योगको विद्युत् विवादका कारण उत्पादन नै रोकियो।

आन्दोलनपछि सरकारले आर्थिक दिशानिर्देश दिन सकेको छैन, जसको असर बजारमा स्पष्ट देखिन्छ। निजी क्षेत्रले ‘राजनीतिक संक्रमणको मूल्य व्यवसायले तिरेको छ’ भन्ने धारणा बनाउँदैछ। उद्योगपतिहरूको मौन पीडा, बढ्दो निराशा व्यवसायीहरू खुलेर बोल्न हिचकिचाउँछन्, तर उनीहरूको निराशा फेसबुक स्टाटस र सूक्ष्म अभिव्यक्तिमा प्रकट हुँदैछ।

प्रबलजंग पाण्डेजीको पोस्ट पनि त्यसैको प्रतीक हो:- उनी भन्छन्, ‘खुल्ला छन् केवल दल दर्ता र विरोधका मुख।’ यसो भन्नुको अर्थ- ‘उत्पादनको ढोका बन्द, विरोधको ढोका खुला।’

देशमा व्यापारको भाषा बुझ्ने नेतृत्वको अभाव र प्रशासनिक अस्थिरताले उद्योगपतिहरूलाई निराश बनाएको छ। धेरैले भन्छन्, ‘अब उद्योग होइन, असन्तोष मात्र चल्छ।’

 

अर्थतन्त्रको मर्ममा चोट

नेपालको बजार प्रणाली अहिले आपूर्तिमा होइन, अनिश्चिततामा अडिएको छ। पर्यटन, निर्माण, उत्पादन, र खुद्रा क्षेत्र सबै प्रभावित छन्। अर्थतन्त्र पुनर्जीवनका लागि राजनीतिक स्थायित्व र नीति स्पष्टता अपरिहार्य बनेको छ । तर दुर्भाग्य सरकार राजनीतिक दल दर्ता खुला राख्छ, तर व्यवसाय दर्ता झन्झटिलो बनाउँछ। कर्मशील युवाले रोजगारी खोज्दा फाइल घुम्छ, र नारा चर्काउनेहरू ‘सक्रिय कार्यकर्ता’को बिल्ला पाउँछन्।

जेन्जी आन्दोलनले देशमा नयाँ सोच ल्यायो तर अब त्यो सोचलाई राजनीतिक जोशबाट आर्थिक जोशमा रूपान्तरण गर्न नसके, देशले उत्पादन होइन, विरोध मात्र निर्यात गर्ने अवस्था सिर्जना हुनेछ।

प्रबलजंग पाण्डेको त्यो वाक्य केवल व्यक्तिगत आक्रोश होइन, देशका सयौँ मौन व्यवसायीहरूको प्रतिनिधित्व हो, ‘हामी काम गर्न चाहन्छौं,तर देशको वातावरणले हामीलाई बन्दी बनाएको छ।’

प्रतिक्रिया