
निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन : पारिश्रमिक, सुरक्षा र सम्मान माग्दै मन्त्रालय घेराउ
काठमाडाैं- सुदूरपश्चिम प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना न्यूनतम पेशागत अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरूले मन्त्रालय अगाडि नाराबाजी गर्दै तत्काल माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्।
आन्दोलनका क्रममा स्वास्थ्यकर्मीहरूको टोलीले सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र समेत बुझाएको छ।
नेपाल नर्सिङ संघको अगुवाइमा बुझाइएको उक्त ज्ञापनपत्रमा २३ र २४ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आधिकारिक पत्रको आधारमा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक, सेवा सुविधा, पेशागत सम्मान र सुरक्षाको सुनिश्चितता माग गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै स्टाफ नर्स आस्मा नेगीले आन्दोलनको उद्देश्य सेवा अवरुद्ध गर्ने नभई पेशाको सम्मान कायम राख्दै स्वास्थ्यकर्मीहरूको न्यूनतम अधिकार सुनिश्चित गराउन रहेको बताइन्। “हामी सेवाको सम्मानका लागि सडकमा आएका हौं, कसैको उपचार रोक्ने हाम्रो उद्देश्य होइन,” नेगीले भनिन्।



कागजपत्र |
