देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ: गगन थापा


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका प्रमुख तीन राजनीतिक दलका नेताहरू  शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल बिदाइ गर्नुपर्ने माग गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले दशकदेखि सत्ता र नेतृत्व घुमाइरहेको भन्दै अब नयाँ नेतृत्वको बाटो खुला गर्न आग्रह गरेका हुन्।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ थापाले भने। उनले यो कार्यका लागि तीनवटै दलभित्र संवाद सुरु गर्नुपर्ने बताए।

थापाले १० वर्षदेखि देउवा, ओली र प्रचण्डबीच प्रधानमन्त्री पद घुमिरहेको र त्यसकै परिणामस्वरूप अहिले देश राजनीतिक अस्थिरता, भ्रष्टाचार र विकास अवरुद्धताको चक्रमा फसेको दाबी गरे। ‘अझै पनि तपाईंहरू चेत्नुहुन्न? अझै पनि बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूलाई हटाउनुपर्दैन?’ थापाको प्रश्न थियो।

महामन्त्री थापाले पार्टीभित्र निरन्तर महाधिवेशनको माग गर्दै आएका छन्। साथै, उनले अन्य दुई ठूला दलका नेता–कार्यकर्तालाई पनि आफ्ना शीर्ष नेताहरूलाई बिदाइ गर्न आग्रह गरेका छन्। ‘म एमाले–माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भने।

 

 

प्रतिक्रिया