सञ्चारमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन्।

शुक्रवार मध्यान्ह मन्त्री खरेल त्रिवि शिक्षण अस्पताल पुगेका थिए र आन्दोलनका क्रममा घाइते भएकाहरूसँग भेट गरी उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। भेटको क्रममा उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए। आन्दोलनको परिणामस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पतन भयो र अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले सम्भालेकी छन्।

कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका हुन्। मन्त्री खरेलले पत्रकारहरूसँग कुरा गर्दै भने, “घाइतेहरूको उपचार र जेनजीको चाहनाअनुसार काम गर्नु मेरो पहिलो प्राथमिकता हो।”

प्रतिक्रिया