अहिले कस्तो छ नारायणगढ–मुग्लिन सडकखण्डको अवस्था ?


चितवन-  एक सातासम्म पटक–पटक अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले सहज रूपमा सञ्चालनमा आएको छ।

तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेका पहिरोका कारण १०५ घण्टासम्म अवरुद्ध भएको सडक बिहीबार राति ११ः३५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार तत्काल ठूलो पहिरो खस्ने अवस्था नरहेकाले यात्रुले सहज रूपमा आवागमन गर्न सक्ने भए पनि सावधानी भने अपनाउनुपर्ने छ। उनले भने, “सानातिना पहिरो खसे पनि सजिलै पन्छाउन सकिन्छ। नाम्सी क्षेत्रमा अड्किएका ढुङ्गा खसेपछि तत्काल पहिरोको जोखिम घटेको देखिन्छ। सडक हाल सुरक्षित देखिन्छ तर पूर्ण निश्चिन्त हुने अवस्था भने छैन।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन राति नै गन्तव्यतर्फ पठाइएको जानकारी दिए। उनका अनुसार ठूलो पहिरो भए पनि समयमै खटिएका टोलीको मेहनतले अपेक्षाभन्दा छिट्टै सडक खुल्न सम्भव भएको हो।

हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा रहेको र जोखिम न्यूनीकरणका लागि निरन्तर निगरानी भइरहेकाले यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया