कांग्रेसमा एकता र आमूल परिवर्तनको लागि शेखर कोइरालाको विशेष भूमिकाः नेता शाही


काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसलाई यथास्थितिबाट अगाडि बढाउन र विभाजनबाट रोक्न सबैले जिम्मेवारी लिएर लाग्नुपर्ने समय आयकोले मंसिरमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्न शेखर कोइरालाले कांग्रेसमा एकता र आमूल परिवर्तनको लागि विशेष भूमिका निर्वाह गरिरहेको बताए।

शाहीका अनुसार, अहिलेको सङकटमा शेखर कोइरालाको धारणा छ कि अब ‘यो’ र ‘ऊ’ पक्ष भनेर विभाजित हुनु हुँदैन। चाँडै महाधिवेशनका लागि वातावरण बनाउनुपर्छ। त्यसको लागि चाँडै नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर महाधिवेशनको कार्यतालिका घोषणा गरेर अगाडि बढ्नुपर्छ। शेखर कोइराला निकटका युवा नेता शाहीले यथास्थितिमा अब पार्टी चल्दैन र विभाजनतिर पनि जान दिनु हुँदैन भन्ने कुरा कोइरालाले राखेको बताए।

दुई वर्ष अघिदेखि नै शेखर दाइले नियमित महाधिवेशनको मुद्दा उठाउँदै आएका हुन् । आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ भनेर पार्टी केन्द्रीय कार्यसमितिमा र सार्वजनिक रूपमा बाराम्बार उनले आवाज उठाउँदै आएका छन् ।

जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको लागि दबाब बढेको छ। पार्टीभित्र यसबखत यथास्थितिमा चल्ने, मंसिरमा नियमित महाधिवेशन गर्ने, वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने गरी तीनवटा विचार आएका छन्। विशेष महाधिवेशनको लागि महामन्त्री गगन थापा निकटका केही युवाहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। तर शेखर कोइराला निकट मानियका युवा नेता भूपेन्द्रजंग शाहीले सबैले जिम्मेवारी लिएर मंसिरमै नियमित महाधिवेशन गर्न एकजुट हुनुपर्ने बताएका छन्। उनले भने, ‘मेरो गोरूको बाह्रै टक्का भनेर मात्र हुँदैन, सबैको भावना र विचारलाई सम्मान गर्दै सहमतिका साथ मिलनबिन्दुको खोजी गर्दै मंसिरमा नियमित महाधिवेशनमा जानुपर्छ।’

नेता शेखर कोइराला पनि चुनावमा जाँदा नया नेतृत्व लिएर जानु पर्ने पक्षमा छन्। उनले नेपाली कांग्रेसमा योगदान गरेका पुस्ता र अहिलेका युवा पुस्ता दुवैको सम्योजन गरेर सबैको मिलनबिन्दुको रूपमा अभिभावक रहेको सन्देश पनि दिएका छन्।

शेखर कोइरालाले भनेका छन्, ‘जेन-जीआन्दोलनपछि अब चाँडै नै अधिवेशन गर्नुपर्छ भन्नेमा म दृढ छु। अहिलेको कार्यसमितिको म्याद मंसिरमा सकिने भएकाले अब म्याद थपेर नजाऔं। त्यसको लागि पहिले पार्टीको बैठक बोलाएर छलफल चलाउनुपर्छ। अब हामीले महाधिवेशनलाई लम्ब्याउनु हुँदैन। निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्छ।’

‘आन्दोलनको मुख्य माग भ्रष्टाचार र बेथितिका विरुद्ध हो। यो कुरालाई आत्मसाथ गरेर हामीले पार्टीका नीति र कार्यक्रममा परिवर्तन गर्न जरुरी छ। सुशीला कार्कीको नेतृत्वको सरकार निर्वाचन गराउनका लागि मात्रै बनेको हो। छ महिनाभित्र यसले निर्वाचन गराउनुपर्छ। त्यसैले हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको निर्वाचन, निर्वाचन र निर्वाचन हो। निर्वाचनबाट भाग्ने छुट कसैलाई छैन। संविधानलाई लिकमा ल्याउनका लागि पनि राजनीतिक दलहरूका अगाडि निर्वाचनमा जानुको अर्को विकल्प छैन,’ भन्ने शेखर कोइरालाको स्पष्ट धारणा रहेको शाहीले बताए।

प्रतिक्रिया