
मधेश प्रदेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता
काठमाडाैं- मधेस प्रदेशमा सत्तासाझेदारीको समीकरण फेरिएको छ। १६ महिनादेखि मुख्यमन्त्री सरोजकुमार सिंहको नेतृत्वमा सहभागी नेपाली कांग्रेस आज औपचारिक रूपमा सरकारबाट बाहिरिने तयारीमा छ।
जनकपुरस्थित संसदीय दलको बिहानको बैठकपछि नेता कृष्णा यादवले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे। “सांसदहरूको सुझावअनुसार हामी सरकारमा नबस्ने निष्कर्षमा पुगेका छौं,” यादवले भने।
कांग्रेसले आजै प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारबाट बाहिरिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिएपछि चार दलीय गठबन्धन कमजोर बनेको हो। अब सिंह नेतृत्वको सरकारमा एमाले र लोसपा मात्र बाँकी छन्।
कांग्रेस संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकार धरापमा परेको छ।
कूल १०७ सदस्यीय मधेस प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी) को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा नेपाली कांग्रेस, एमाले, लोसपा, नेकपा (एकीकृत समाजवादी) र उनकै पार्टी जनमत सहभागी थियो। मुख्यमन्त्री सिंहलाई प्रदेशसभामा ६९ सदस्यको समर्थन थियो। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसंगै सिंह नेतृत्वको मधेस सरकार अल्पमतमा परेको छ।



कागजपत्र |
