सिंहदरबार जलाउने ‘घुसपैठिया’ तत्व भएको ओलीको दाबी


काठमाडौं-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई देशभक्त बनाउनुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनका कारण भदौ २४ गते सत्ता छोडेपछि राजनीतिमा सक्रिय बनेका ओली भक्तपुरको गुन्डूस्थित निवासमा मंगलबार भेट्न आएका युवाहरूसँग सम्बोधन गर्दै यस्तो बताएका हुन्।

ओलीले भने, “देशप्रति माया गर्ने, जिम्मेवार र सभ्य युवाको आवश्यकता छ। असभ्य र गैरजिम्मेवार हुनु युवाको कुरा होइन। पढाइमा लाग्ने, छलकपट नगर्ने, असल चरित्र सिकाउने संस्कार बनाउनुपर्छ।”

उनले सामाजिक सञ्जालमा हल्का गतिविधिमा रमाउने प्रवृत्तिले युवालाई कमजोर बनाइरहेको बताउँदै डिजिटल प्लेटफर्मको सदुपयोग गर्न आग्रह गरे।

देशमा हालै भएका घटनाबारे टिप्पणी गर्दै ओलीले भने, “यो देश हाम्रो हो, हामीले बनाउनुपर्छ। तर अरूले उचालेर  सिंहदरबार जलाइयो। देशलाई माया गर्नेले सिंहदरबार जलाउँदैन। त्यो योजनाबद्ध काम हो, घुसपैठिया तत्वले गराएका हुन्।”

उनले युवालाई हिम्मत नहार्न, सभ्यता विकास गर्न र निरन्तर संघर्ष गर्दै अघि बढ्न पनि प्रेरित गरे। “नेपाल जिम्मेवार र सभ्य मानिसहरूको देश हो, लामो सभ्यताको इतिहास भएको राष्ट्र हो,” उनले भने।

प्रतिक्रिया